असार १५ मा, हाम्रो देश नेपालले राष्ट्रिय धान रोपण दिवस वा धान दिवस मनाउँने गर्दछ । धान नेपालको प्रमुख खाधान्न बाली हो । यसको उत्पती दक्षिण पुर्वी एशियामा भएको मानिन्छ । नेपालमा यसको खेती मनाङ र मुस्ताङ बाहेक सबै जील्लामा भइरहेको छ । विश्वमा सबैभन्दा धेरै धान फलाउने देश चाइना हो भने धान उत्पादनको हिसाबले नेपाल विश्वको १७ औ स्थानमा पर्दछ । विश्वको सबैभन्दा अग्लो स्थानमा धान खेती हुने ठाउँ जुम्लाको छुमरचौरमा पर्दछ ।


नेपालको चेरापुन्जी भनेर चिनिने पोखरा उपत्यकामा, सबै भन्दा बढी वर्षा हुने गरेको र आर्द्रताको प्रचुरताले पारिस्थितिक पकेट, माइक्रो क्लाइमेट र विभिन्न माटोका प्रकारहरू सिर्जना भएको छ जसले गर्दा विभिन्न प्रकारका धान उत्पादन हुने गरेको पाईन्छ। पोखरा उपत्यकामा, जहाँ जेठोबुडो, मनसुली र पोखरेली जस्ता नेपालका केही प्रख्यात स्वदेशी धानका प्रजातिहरू उब्जाउ हुन्छन्, यहाँ राष्ट्रिय धान दिवसको दिन झनै ठूलो छ।


हामी सबैलाई यथावत नै छ, नेपाल कृषि प्रधान देश भएतापनि यहाँ रासायनिक मलको लागि पूर्ण परनिर्भरता रहेको छ । जहिले पनि धान रोप्ने समय देखि नै रासायनिक मलको बारेमा व्यापक रुपमा चर्चा परिचर्चाहरु चल्ने गर्दछन। बढ्दो सिजनको चरम समयमा, युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलले किसानको आवशयकता पूरा गर्न पोखरा महानगरपालिका असक्षम छ भन्नेकुरा किसानहरुलाई थाहा नभएको होइन। त्यसकारण यस विषयलाई सम्बोधन गर्नको लागि समेत पोखरा महानगरपालिकामा दिगो समाधानको खोजी गर्नु अपरिहार्य छ । यसको लागि वर्तमान अवस्थालाई विश्लेषण गर्दा अजोला खेति प्रणाली अवलम्वन गर्नु बलियो आधार हुन सक्दछ भन्ने कुरालाई नकार्न सकिदैन। यो समस्या नित्यान्त नयाँ समस्या नभई गत विगतका समस्याहरुको निरन्तरता तथा सरोकारवालाहरु कृषकको समस्याप्रति सम्वेदनशील नभएर उब्जेको समस्या हो, यसको क्रमभङ्गता आजको आवश्यकता हो भन्ने कुरामा दुईमत छैन। अजोला खेती पोखरा महानगरको हकमा एकदमै नयाँ खेती हो र यस उपत्यकामा हालसम्म औंलामा गन्ने संख्यामा पनि अजोला खेति गर्ने किसान छैनन् ।

अजोला खेतिको परिचय

अजोला पानीमा उम्रने साना, राम्रा बोटबिरुवाहरूको एक प्रजाति हो, जुन जैविक उर्वरक हो । यसलाई वैज्ञानिक भाषामा aquatic fern भनिन्छ । एजोलामा ऐनाबेना नामको नीलो–हरियो काईको प्रजातिको सूक्ष्मजीव हुन्छ, जसले वायुमण्डलीय नाइट्रोजनलाई धानले प्राप्त हुने तरिकाले परिनत गर्दछ र हरियो मल जस्ता बालीलाई नाइट्रोजन आपूर्ति गर्छ । यो सानो समूहमा तैरीएर बस्छ जुन खाडल,  सफा पानी र धान खेतहरूमा विलासी रूपमा बढ्छ। अजोलाको विशेषता भनेको अनुकूल वातावरणमा ५ दिनभित्र दोब्बर हुन्छ । अजोलामा ३.५ प्रतिशत नाइट्रोजन पाइन्छ ।


विश्ववमा यसको धेरै प्रकारहरु पाईएतापनि नेपालमा विशेषगरी अजोला पिनाटाको खेति विस्तार भएको पाईन्छ । ५ देखि १० डिग्री सेल्सियस भन्दा कम र ३० देखि ३५ डिग्री सेल्सियससम्मको तापक्रम यसको बढ्यौलीका लागि अनुकूल हुन्छ। यसले बढी चिसो, गर्मि र तुसारो समेत सहन सक्दैन। यसको प्रयोगकर्ता भारतका किसानहरुका अनुसार अजोलाको प्रयोगले धान बालीमा ५ देखि १५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने र उत्पादन लागत भने घटेको अनुभव छ । धान उत्पादनका लागि अजोलाको प्रयोग निकै लाभदायक छ ।

  • जैविक मलको रुपमा अजोला : अजोला मुख्यतया धान खेतीमा प्रयोग गरिन्छ, जसमा हामी सबै जातहरू प्रयोग गर्न सक्छौं। धान रोपेको २० देखि २५ दिनपछि खेतमा हाल्न सकिन्छ । प्रत्यारोपण गर्नु अघि २ देखि ४ इन्च पानीले भरिएको खेतमा अजोला थपिन्छ र २ दखि ४ दिन मै तुरुन्त कुहिएर मलको रुपमा परिणत हुन्छ। यसलाई हरियो मलको रूपमा खेतीमा अचुक औषधि मानिएको छ जुन पूरै खेतबारीमा फैलिएको हुन्छ।
  • पशुपंक्षीको आहाराको रुपमा अजोला: अजोला सस्तो, पचाउन सकिने, पौष्टिक पूरक पशु आहार हो। यो जनावरहरूमा बाँझोपन रोक्न र फस्फोरसको कमीका कारण जनावरको पिसाबमा रगत देखिने समस्या निको गर्न उपयोगी छ । अजोलाले जनावरको शारीरिक विकासका निम्ति क्याल्सियम, फस्फोरस, आइरनको आवश्यकता पूरा गर्छ। यसको प्रयोगले पशुमा दुधको वृद्धि हुने, मासुका लागि पालिएका पशुपंक्षीको तौल बढ्ने भएकाले अजोला खेती फलदायी मानिएको छ।

अजोला समावेशको फाइदाहरु:

  • म्याक्रोन्युट्रिएन्ट N, P, K र माईक्रोन्युट्रिएन्ट जिंक (Zn), आइरन (Fe), म्याग्नेसियम (Mg) लाई धान बालीमा उपलब्ध गराउने गरी घुलनशील बनाउँछ र बिरुवाको वृद्धि विकासलाई बढावा दिने प्लान्ट ग्रोथ रेगुलेटर्स (PGR) र भिटामिनहरू पनि उत्पन्न गराउछ ।
  • धान खेतमा एजोलाले झारको बीउको अंकुरणको लागि सूर्यको किरण रोकेर अनावश्यक झारको वृद्धिलाई
    नियन्त्रण गर्छ ।
  • अजोलामा उच्च जैविक पदार्थ कार्बन हुन्छ जसले माटोमा जैविक कार्बोन बढाउन मद्दत गर्छ। अजोला कम्पोस्टले बिरुवाको वृद्धिलाई प्रवर्द्धन गर्छ , सकारात्मक उत्पादन दिन्छ र माटोमा जैविक पदार्थको मात्रा बढाउँछ।
  • धान थोरै अम्लीय माटोमा फस्टाउँने भएकाले बाढीको अवस्थामा, माटोको पीएच एकै साथ बढ्छ तर धान खेतमा एजोलाको समावेशले माटोको पीएच कायम राख्छ ।
  • अजोलाको एनाबेनासँग सिम्बायोटिक सम्बन्धले जैविक नाइट्रोजन निर्धारणमा मद्दत गर्छ। अजोलाले बालीको नाइट्रोजन ४०-६०% ले बढाउँछ र २०-४०% ले नाइट्रोजनको हास् कम गर्दछ।
  • अजोलाको प्रयोगले बिरुवाको वृद्धि, अर्गानिक म्याटर र पोषक तत्वको गुणस्तर पनि बढाउँछ। अजोलाले
    अन्नको उत्पादन, परालको उत्पादन बढाउन मद्दत गर्छ।

अजोलाको बेफाइदाहरु:

  • यसको वृद्धि छिटो र बाक्लो हुने भएकाले नियन्त्रण गर्न कठिनाई हुन्छ।
  • कुवा, पानी, ईनार भएको ठाउँमा उम्रिने भएकाले यो फोहोर देखिन सक्छ ।

अजोला बनाउने विधि: अजोला कल्चर पानीको पोखरीमा, प्लाष्टिक पोखरी, फलामको ट्रे, प्लाष्टिकको ट्रे लगायत विभिन्न भाँडाहरुमा बनाउन सकिन्छ । पानीको पोखरी वा कुनै भाँडोमा ५ देखि ७ से.मी. पानी भरेर यसलाई प्रति वर्ग मिटर १०० देखी ४०० ग्राम पानीमा मिलाउन सकिन्छ । अजोला कल्चर रोपेपछि दोस्रो दिनदेखि ट्रे वा पोखरीमा अजोलाको बाक्लो तह बन्न थाल्छ, जसले नाइट्रोजन फिक्सरको रूपमा काम गर्छ।

अनुभवी कृषकहरुको भनाई

  • स्याङ्जा, पुतलीबजार नगरपालिका–४ का महेन्द्र थापाले विगत ३ वर्ष देखि अजोला खेती गर्दै आईरहेका थिए । लेउ प्रजातिको यो खेतीले थापाको धान बालीमा युरियाको र ५० प्रतिशत दानाको खपत कम भएको छ । अजोला र दानाको मिश्रण समेत गरेर कुखुरा, टर्की र हाँसलाई दाना पुर्याएको कुरा ब्यक्त गरेका छन् । अहिले स्याङ्जाका अधिकांश किसान अजोलाको खेतीप्रति आकर्षित हुन थालेका छन्। अब लकडाउन र बन्दको प्रभावले आफूहरुलाई असर नगर्ने कृषक थापा बताउँछन्। थापाले युट्युबमा हेरेर खेती गर्न सिकेका हुन्। उनले भारतबाट बिउ ल्याएका थिए।
  • गरे के हुन्न भन्ने अठोटका साथ सम्भावनाको खोजीमै रमाएका एक युवा हुन्, कैलालीको गोदावरी नगरपालिका–२, उत्तर वनखेतका ४६ वर्षीय मीनराज जोशी । बहुव्यावसायिक पशुपालनमा सक्रिय उनले विगत ४ वर्ष देखि आफ्ना पशुहरूको आहारको रुपमा अजोला प्रयोग गर्नुको साथै बिक्री वितरण गर्दै आएका छन् । अजोला खेती सम्बन्धी इन्टरनेटमा भएको सामग्री हेरेर खेतीको शुरूवात गरेको कृषक जोशी बताउछन्।
  • धानको व्यावसायिक उत्पादनमा अजोला प्रयोग गर्ने नेपालको पहिलो संस्था, राष्ट्रिय खाद्य बैंक लि. हो। राष्ट्रिय खाद्या बैंक लिमिटेड कृषि क्षेत्रमा पूर्ण रुपमा संलग्न रहेको नेपालको पहिलो बैंक हो। बैंकले अर्गानिक खाद्य बस्तुको उत्पादनलाई प्राथमिकता दिदै विगत २ वर्षदेखि धान खेतमा दोहोरो बाली प्रणालीका रूपमा अजोलालाई प्रयोग गर्दै आएको छ | बर्दिया र झापा दुवै जिल्लाको प्रोजेक्टमा १०० बिघाभन्दा बढी जमिनमा यसको प्रयोग गरि रहेको अवस्था छ । यसले गर्दा धान खेतीमा बढी उत्पादकत्व हुनुका साथै मलको कम प्रयोग र झारपात कम निस्किएको छ।

    त्यसैले पोखरा महानगरमा अजोलाको खेती अभियान चलाउन, आगामी कार्यक्रममा अजोला बिस्तार गर्ने योजना बनाउन जरुरी छ जसले गर्दा ठूलो संख्यामा बाहिरबाट आयात हुने रासायनिक मल, दाना र चापटको प्रतिस्थापन गरेर कृषि उत्पादनमा लागत मूल्य घटाउन टेवा पुग्दछ।